FAQs Complain Problems

सूचना तथा समाचार

०८०। जेष्ठ ०३। बरेङ गाउँपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा संचालन गरेको छ । पालिकाले जेष्ठ १ गतेदेखि पालिकाकै सभाहलमा नि:शुल्क लोक सेवा तयारी कक्षा संचालन गरेको हो । १ गतेबाट दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन भइरहेको छ । कक्षा जेष्ठ महिनाभर चल्ने  छ । 

आफ्नो पालिका भित्रका महिला दलित,आदिवासी जनजाती,अपाङ्ग र आर्थिक तथा सामाजिक रुपमा पिछाडीएको वर्गलाई विशेष प्राथमिकतामा राखी तयारी कक्षा  सञ्चालन गरिएको हो । लोक सेवा तयारी गर्न इच्छुक विद्यार्थीको सहभागिता  दैनिक बढिरहेको छ बुधबार अथवा  तेस्रो दिन १३ जनाको सहभागिता रहेको थियो ।

लोकसेवा तयारी कक्षा कार्यतालिका अन्तर्गत राजपत्र अनंकित द्धितिय(खरिदार) वा सो सरहको पाठ्क्रम छलफल तथा उत्प्रेरणा कक्षाका लागी एक दिन,सौर्यमण्डल,विश्वको भुगोल र नेपालको भुगोल संबन्धि कक्षा ३ दिन,इतिहाँस (विश्वको र नेपालको) सबंन्धि कक्षाका लागी ४ दिन, नेपालको सामाजिक, आर्थिक अवस्था र शासन पद्धतिको कक्षा ५ दिन,विज्ञान प्रविधि,जनस्वास्थ्य र वातावरण सबंन्धि कक्षा ४ दिन,अन्तराष्ट्रिय सम्बन्ध र समसामयिक विषयवस्तुमा ३ दिन, आधारभुत कार्यालय सीप परीक्षण वा बौद्धिक परीक्षणका लागी ७ दिन र अभ्यास परीक्षा र पृष्ठपोषणका लागी ३ दिनको समयावधि तोकिएको छ ।

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो।

२०८०।०१।३० ।  बरेङ गाउँपालिका वडा नं. २  हुग्दिशिरको  बरेङ बजार स्थित सर्वोदय माध्यमिक विद्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

युवाको जाँगर, राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ युनाइटेड क्लब पोखराको आयोजना, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखरा–११ रानीपौवा र नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रा.लि.को प्र्राविधिक सहयोग तथा बरेङ गाउँपालिकाको व्यवस्थापनमा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरको  उद्घाटन गर्दै बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले  आयोजक युनाइटेड क्लब पोखरालाई दुर्गम ठाँउ बरेङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर राखी यहाँका जेष्ठ नागरिक, अपाङ्ग, निम्न आयस्तर भएका नागरिकहरुलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
उद्घाटन कार्यक्रममा डा. सरोज पोख्रेल, वडा नं.१ का वडा अध्यक्ष नरसेङ पुन, युनाइटेड क्लब पोखराका कार्यकारी सदस्य जयराम आचार्य लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आयोजक युनाइटेड क्लब पोखराद्वारा पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई मायाको चिनो साथै बरेङ गाउँपालिका प्रशासकीय अधिकृत जित बहादुर रानालाई कदर पत्र प्रदान गरिएको थियो ।  युनाइटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता, क्लबका महासचिव दिनेश सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

 शिविरमा भिडियो एक्स रे, इसिजी, नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, सुगर, थाइराईड लगाएतका  ६ सय ५० बिरामीले  सेवा लिएका हुन् ।

युनाईटेड क्लब पोखराको प्राविधिक सहयोग र यस पालिकाको आयोजनामा मिति २०८० वैशाख ३० गते सर्वोदय मा.वि बरेङमा शिविर संचालन हुने ।

तालिम सम्पन्न पश्चात लिइएको तस्विर

२०८०-०१-२५ । बरेङ गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहजिकरणमा मिति २०८०/०१/१९ देखि २४ गतेसम्म परिमार्जित स्वास्थ्य व्यवस्थापन सुचना प्रणालि (HMIS) सम्बन्धि ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

२ चरणमा गरि ३२ जना स्वास्थ्यकर्मीहरुलाई पालिकाको वडा नं. ३ बाटाकाचौर स्वास्थ्य चौकीमा तालिम दिइएको थियो। बा. न. पा. स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालले तालिमको सहजीकरण गरेका थिए ।

 

२०८०।०१।२४ । बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिरको बरेङ बजारमा “स्थानीय स्रोतसाधनको प्रयोग गरौं, सीप सिकौं आम्दामीमा वृद्धि गरौं” भन्ने नाराका साथ गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत  १ महिने होजियारी सीप विकास तालिम आईतबार सम्पन्न भएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सिंहदरवारको सहयोग र बरेङ गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा १ महिना सम्म सञ्चालनमा रहेको तालिममा २ वटै वडाका २६ जना महिलाहरुको सहभागिता रहेको थियो । सीप विकास तालिमको १ महिना बा.न.पा. वडा नं. १३ पैंयुपाटाका सफल लघु उद्यमी लक्ष्मी क्षेत्रीले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै विशिष्ट अतिथी बरेङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले आफुसंग सीप नहुँदा परनिर्भर हुनु पने आर्थिक बिपन्नतामा रहेर घर गुजारा गर्नु पर्ने बाध्यतालाई निर्मुल पार्न सरकारको लगानीले महिलाहरुलाई आत्म निर्भरको लागी सफल उद्यमी बनाउन यो पहिले चरणको तालिम सञ्चालन गरेको बताएका छन् । यो तालिमले उद्यमीहरुको समुह बनाई उत्पादन, व्यावस्थापन र बजारीकरणमा लागे महिलाहरु पनि सफल उद्यमी बन्न सक्ने पनि उनले बताएका छन् ।
प्रमुख अतिथी बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आयआर्जन मुलक सीपको विकासको लागी र आर्थिक उपार्जनको लागी सीप सिक्नु महत्वपूर्ण रहेको बताएका छन् ।

सिकेका सीपको अवलम्वन गर्दै सीप सिके पछि व्यापार व्यावसायमा लाग्ने गरी परिश्रम गर्नु पर्ने, सिकेका सीपको सदुपयोग गरी आय मुलक तथा आम्दामीमा आत्मनिर्भर रहने गरी पेशामा लाग्न गाउँपालिकाले पनि सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा अतिथीहरुलाई १ महिना आफुहरुले सिकेका सीपबाट निर्माण गरिएका गलबन्दीले स्वागत गरेका थिए भने प्रमुख अतिथी अध्यक्ष कृक्ष्ण प्रसाद शर्मा, विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना र वडा नं.१ का अध्यक्ष नरसेङ पुनले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नं.१ का अध्यक्ष नरसेङ पुन, सहजकर्ता लक्ष्मी खत्रीले मन्तव्य राखेका थिए । त्यस्तै सहभागी समूहले सामुहिक रुपमा लघुउद्यममा आवश्यक व्यवस्थापनको लागी गाउँपालिका अध्यक्ष शर्मालाई निवेदन समेत बुझाएका छन् ।

कार्यक्रम समूहका अध्यक्ष कुमारी थापाको अध्यक्षता, शिला पुनको स्वागत र ईन्द्रा बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो भने गाउँपालिकाले सहभागी लघुउद्यमीहरुलाई होजियारी निमार्ण प्रविधि पनि हस्तान्तरण गरेको छ ।

c-https://eparinews.com

Pages